२७ वर्षदेखि हनुमाननगरका नागरिक खानेपानीबाट बञ्चित

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु भएको खानेपानी आयोजना अहिलेसम्म पूरा नहुँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । 

स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीय बताउँछन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो । 

खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दाबढी जनता प्रभावित भएको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का अमन यादवले बताए ।

हनुमाननगर कङ्कालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांगे्रसका प्रदेश सचिवसमेत रहनुभएका बेचन खडकाले बताए ।

स्थानीय राजेन्द्र मिश्रले खानेपानी टयाङ्की निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको टिप्पणी गरे । “पानी ट्याङ्की निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन”, उनले भने ।

आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो ।

फर्सेठका सञ्चालक नारायण यादवले आफूहरुले १३ लाख भुक्तनी नपाएपछि काम रोकिएको बताए । आयोजना ३ करोडको लागतमा निर्माण सुरु भएको थियो । 

कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कङ्कालिनी नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिका उत्तरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ ।

प्रतिक्रिया