चितवन कारागारका १६ जना कैदीबन्दी स्थानान्तरण

चितवन । कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।
 
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठजनालाई रसुवा, पाँचजनालाई काठमाडौँ, दुईजनालाई डिल्लीबजार र एकजनालाई तनहुँ स्थानान्तरण गरिएको हो । 

उनीहरुमध्ये ६ जनालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ  स्थानान्तरण गरिएको हो भने अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको चेतनाथ ढुङ्गानाले जानकारी दिए ।

यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालहरुमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले यस कारागारमा अन्य जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो । 

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् । 

यस कारागारमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी ल्याइने हुँदा यहाँ क्षमताभन्दा बढी कैदीबन्दी हुने गरेका छन् ।
 

प्रतिक्रिया