बाढीबाट प्रभावित काभ्रेको खानेपानी संरचना फाष्ट ट्रयकमा बनाउँछौँ : मन्त्री यादव

काभ्रे । खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको रोशी लगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयकमा निर्माण गरिने बताएका छन् । 

गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहान लगायतका  संरचनाको  आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले सो कुरा बताएको हुन् । 

मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटो भन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्तीसमेत स्थानान्तरण गरी प्रभावित जनताको जीउधनको सुरक्षाका लागि अनुरोध गरे । 

अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चन चन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धक लगायतका प्रतिनिधि तथा पदाधिकारी सहभागी थिए । 

प्रतिक्रिया