भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बि. पी. राजमार्गमा रोकिएका सवारी साधन गन्तव्य तर्फ

काभ्रेपलाञ्चोक । बाढी पहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आइतबार देखि खुलेको छ । बाटो खुले सँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।

यात्रुवाहक बसलाई पनि आइतबार देखि सञ्चालनको अनुमति  दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए ।  तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवा बाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि  सञ्चालन भएको उनले बताए । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । 

बि.पी. राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्ग बाट गन्तव्य सम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटार स्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए । 

बि.पी. राजमार्गमा फसेका सवारीसाधन मध्ये १३ वटा वैकल्पिक बाटो बाट  काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सय भन्दा बढी सवारीसाधन लाई आएतबार देखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्य तर्फ पठाइने जानकारी पनि उनले दिए । 
रासस 

प्रतिक्रिया