बाढी पछि पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौं ।  नेपाली कांग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहर सफाइ गरेको छ । 

कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एवं विभागका प्रमुख कल्याणकुमार गुरुङल गायत पार्टी नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । 

यही असोज १०, ११ र १२ गतेको वर्षा र त्यस पछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख गुरुङले जानकारी दिए । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा र स्वच्छ राखी विश्वका पर्यटक यहाँ आकर्षित गर्नु पर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए । सम्पदा क्षेत्रलाई सधैँ सफा राख्नुपर्छ भनी पार्टीले वडा तह सम्म जागरण अभियान चलाउने पनि जनाइएको छ । त्यस अवसरमा पशुपति क्षेत्रका विश्वरुप, मृगस्थली, गुह्येश्वरी र त्यस नजिकको बागमती सफाइ गरिएको थियो । 

कांग्रेसले बाढी, पहिरोका कारण बागमती  नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रुपमा सफाइ गर्ने जनाएको छ । यसै क्रममा यही असोज २१ गते बिहान ७ बजे ललितपुरको बागमती किनार स्थित बिपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने विभागीय प्रमुख गुरुङले जानकारी  दिए । 

सम्पदा सफाइ अभियानमा जुट्न उनले पार्टीका विभिन्न तहमा क्रियाशील नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् । बाढी, पहिरो बाट बागमती किनारमा     जम्मा भएको फोहर सफाइ अभियान सके पछि बागमतीको मुहान स्थित बागद्वार बाट नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ । 

यो अभियानका लागि बी.पी. सङ्ग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको पनि कांग्रेसले जनाएको छ ।
रासस 

प्रतिक्रिया