ललितपुरका बाढी पीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । 

त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर, उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्यो भन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ । 
    
बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढी पीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरुको चिन्ता छ । 
    
ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हाले पछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताए । उनले भने, “औषधि छर्के देखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रुपमा हटिसकेको छैन । यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ ।”
    
नगरप्रहरीले तीन दिन यता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, “विद्युत अवरुद्ध भएको सबै ठाउँमा विद्युत सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।”
    
हावा चलेको  समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताइन् । उनले भनिन्, “दुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।”
रासस 

प्रतिक्रिया