राहत सामग्री नपाएको बाढी पीडितको गुनासो

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो । 

बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन । विस्थापित भएका कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँ समेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ । अहिले सम्ममा यहाँका पीडित परिवारलाई कतै बाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए ।  । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् ।

सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पुर्‍याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसा पिसाब गर्न समेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढी पीडित ५ दिन देखि एक छाक भुजा खाएर बसेको विस्थापित अनुशा मरिकले बताए ।  वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा– ९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए । 

गत साताको अविरल वर्षा सँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबै भन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरु बाढी पछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताए । 

पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरुको गुनासो छ । पीडित परिवारलाई दुई दिन अघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालय मार्फत पहल भइरहेको उनले बताए । 

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढी पीडितलाई  वडा बाट राहत सामग्री वितरण भएको बताए । 
रासस 

प्रतिक्रिया