७ करोड खर्चेर तनहुँको कुलुङ खोलामा पक्की पुल बन्दै

तनहुँ । सडक निर्माण भएको २५ वर्ष पछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । 

गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको  ७ करोड ७३ लाख ६४ हजार ३ सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा २ करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । 

उक्त मन्त्रालयका अनुसार ७४.२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनी सँग ठेक्का सम्झौता भएको छ ।  यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्ष देखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए । 

सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय बीच भएको सम्झौता बमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा  आएको थियो । प्रदेश सरकारले सामाजिक विकास कार्यालयको  भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ । 
रासस 

प्रतिक्रिया