बिपी राजमार्ग : काभ्रे तर्फ अस्थायी सडक निर्माण गरिदै

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिन भित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । 

रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । 

विभागले बुधबार देखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए । “बुधबार देखि काम थालिसकेका छौँ, अब दुई दिन भित्र एक तर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ”, उनले भने । 

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडक माथि ठूलो पहाड रहेकाले माथिल्लो स्थान तर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए । 

अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटे पछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबार देखि हेलिकप्टर मार्फत उद्धार गरिएको  थियो । राजधानी सँग मध्यपहाडी क्षेत्र हुँदै पूर्व सँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहान देखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थान बाट पैदल समेत आवतजावत गर्न असहज छ । 

उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेसी र सिन्धुलीको नेपालथोक बाट सडक मर्मत थालिएको हो । सडक डिभिजन भक्तपुरले मङ्गलबार देखि रोशीले सबै भन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोक सम्म मर्मत सुरु गरेको हो । पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेसी सडक गत सोमबार देखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डे बाट नेपालथोक तर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ । 

डिभिजनले काभ्रेतर्फ बाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने  नेपालथोक बाट पाँच डोजर लगायतका उपकरण  प्रयोग गरेको छ । जनकपुर बाट आएका पाँच उपकरणले मङ्गलटार र नार्के सम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुली तर्फ फर्काउने योजना छ । 

हाल सम्म भकुण्डे देखि नेपालथोक सम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ । राजमार्गको कुल एक सय ६० किलोमिटर(किमी) मध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोट देखि नेपालथोक सम्म ३४ किमी र चौथोखण्ड नेपालथोक देखि धुलिखेल सम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रति किमी ३५ करोड लागत थियो । सो रकम हालको मूल्याङ्कन अनुसार  ५० करोड भन्दा माथि हो । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्याङ्कन प्रारम्भिक अनुमान दुई अर्ब भन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए । 

बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबार देखि सञ्चालनमा ल्याइएको छ । 

जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट बि.पी. राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६  ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो ।
रासस 

प्रतिक्रिया