पूर्व बाट फेरि मौसम बदली सुरू, आजै अपरान्ह देखि वर्षा हुने सम्भावना

काठमाडौं ।  ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा मंगलबार देखि कोशी प्रदेश बाट फेरि बदली सुरु भएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशी सहित मधेश प्रदेश, बागमती र गण्डकी सम्म देखिने जनाइएको छ । 

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “बादल लाग्ने र हल्का देखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेश सम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर बुधबार र  बिहीबार सम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन् । 

तर, यस अघिको वर्षाले देशका सबै भू(भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् । 

मंगलबार  राति कोशी लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली हुने छ र हल्का देखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्का देखि मध्यम वर्षा हुने छ । 

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।
रासस

प्रतिक्रिया