कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

बागमती । अविरल वर्षा सँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिए पछि आज बिहान ढोका खोलिएको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथि बाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए ।  
 
“जलाशय भरिन अझै एक र दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”,  चिलुवालले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए । 

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँ बाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ । 

कुलेखानी बाँध देखि तल सिस्नेरी हुँदै वागमती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएकाले कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो । 

प्रतिक्रिया