लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताए । विश्व पर्यटन दिवसका अवसरमा आज घोराहीमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उनले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने समेत घोषणा गरे ।

“म सबैलाई एकपटक लुम्बिनी भ्रमण गर्न आह्वान गर्छु, लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । यहाँका हरेक जिल्ला पर्यटकीय हिसाबले उपयुक्त छन् ।”उनले लुम्बिनी विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको बताए ।

“लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणले अगाडि छ, विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ”, उनले भने । उद्योग  पर्यटन  तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सृजना गर्ने सकिने बताए ।

“देशमा केही छैन, केही हुँदैन भन्ने भाष्यका कारण युवा पलायनको स्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । नेपालमा भएका सम्भावना र अवसरको पहिचान गरी यही रोजगारी सृजना गर्नुपर्छ”,उनले भने । यसका लागि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाको सम्भावनाको पहिचान गरी काम गर्ने बताए ।

प्रतिक्रिया