दुग्ध तथा उखु किसानको बक्यौता तिर्न दुई अर्ब रुपैयाँ निकासा

काठमाडौं । सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानका लागि झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको हो ।

दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ । यस्तै आठ जिल्लाका उखु किसानले पाउनु पर्ने एक अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ ।त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबार नै सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।
 
कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाएको हो ।

सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम बाँडफाँट स्वीकृत पाएको छ । उखु किसानले अनुदानबापत पाउनुपर्ने रकम दसैँअघि नै पाउने भएका छन् ।  

मन्त्री अधिकारीले उखु तथा दूध किसानहरूको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । 

प्रतिक्रिया