प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन्।

केही दिनपछि अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेलगत्तै उनले उक्त आरोप लगाएका हुन्।

प्रधानन्यायाधीश श्रेष्ठले आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाए। उनले आफूलाई जेल चलान गर्न पनि प्रधानन्यायाधीश श्रेष्ठलाई चुनौती दिए।

अध्यक्ष घिमिरेले सरकार र संसदलाई पनि प्रधानन्यायाधीश श्रेष्ठको सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने गैरसंवैधानिक र गैरन्यायिक काममा साक्षी नबस्न आग्रह गरे। आफू नेतृत्वमा रहेसम्म नेपाल बारले गैरसंवैधानिक र गैरन्यायायिक कुनै पनि कदमप्रति सम्झौता नगर्ने उनको भनाइ थियो।

हाल न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने काम गैरसंवैधानिक र गैरकानुनी हुने भन्दै नेपाल बारले त्यसको विरोध गर्दै आएको थियो। तर न्यायपरिषदको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई नियुक्त गर्ने सिफारिस गरेको थियो।

प्रतिक्रिया