कुलेखानी ड्याम भरिने अवस्थामा, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह

काठमाडौँ। लगातार परेको वर्षातका कारण मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको ड्याम भरिने अवस्था पुगेको छ। केही घण्टामै कुलेखानी ड्याम भरिने सम्भावना देखिएकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ। कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ।

कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको तहमा पानी आइसकेको छ। कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न आग्रह गरेको छ। 

यस्तै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरिएको छ  । बिहीबार रातीदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरूमा जलसतह ह्वात्तै बढेको छ ।

इन्द्रसरोबर गाउँपालिकाले पनि वडा नं २ र ३ सहित कुलेखानी खोला आसपासका बस्तीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया