तेल र घ्युमा हुने ‘ट्रान्स फ्याट’ मात्राको विवरण उपलब्ध गराउन माग

काठमाडौं। चाडवाड नजिकिएसंगै वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उधोगहरुवाट उत्पादन हुने तेल र घ्युमा हुने ‘ट्रान्स फ्याट’ मा चासो देखाएको छ। बिभागले उधोगहरुलाई पत्र पठाउँदै तेल र घ्युमा भएको ‘ट्रान्स फ्याट’ मात्राको विवरण उपलब्ध गराउन माग गरेको छ। मान्यता प्राप्त ल्याववाट परिक्षण गराई पत्र प्राप्त भएको मितिले दुई हप्ताभित्र सोको विवरण उपलब्ध गराउन विभागले माग गरेको हो।  

नेपालमा भएको तेल्घ्यु मिलबाट उत्पादन हुने तेल्घ्युमा ‘ट्रान्स फ्याट’को मात्रा खाद्य पदार्थमा कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा नबढेको हुनुपर्ने कानूनी व्यवस्था छ। सोही व्यवस्थाका आधारमा विभागले उद्योगहरूलाई पत्राचार गरेको हो।

के हो ट्रान्स फ्याट ?
ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो। तयारी खानेकुरामा हुने अति खराब चिल्लोको मात्रालाई ट्रान्स फ्याट भनिन्छ। ट्रान्स फ्याट दुईवटा स्रोतबाट पाइन्छ– प्राकृतिक र कृत्रिम ।

प्राकृतिक ट्रान्सफ्याट माछामासु तथा दुग्धजन्य खानेकुराबाट पाइन्छ। चौपायाको मासुमा ३ देखि ९ प्रतिशतसम्म र दुधजन्य खानेकुरामा २ देखि ६ प्रतिशत ट्रान्स फ्याट पाइन्छ।

खानामा ट्रान्स फ्याटको मात्रा धेरै भएमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप, मोटोपन, स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

ट्रान्स फ्याट सबैभन्दा बढी वनस्पति घ्युमा हुन्छ। विभिन्न कारणले तेलमा हाइड्रोजन हुनु, हाइड्रोजनको मात्रा थप्नु र थपिँदै जाँदा तेल बाक्लो हुँदै जानु नै ट्रान्स फ्याट बन्ने प्रक्रिया हो। सामान्य अर्थमा वनस्पति तेल र धेरैपटक खाद्यवस्तु पकाउन प्रयोग गरेको तेलमा ट्रान्स फ्याट हुन्छ।

तेलमा जति धेरै डाइड्रोजन मिसायो, त्यति धेरै वनस्पति घ्यू बढ्दै जान्छ। पूरै हाइड्रोजन मिसायो भने मैनजस्तो बन्छ। यसरी बनेको तेल वा तेलमा पकाएको खानेकुरा खान लायकको हुँदैन। 

प्रतिक्रिया