भित्र न्याय परिषद्को बैठक, बाहिर झरीमा छाता ओढेर बारको धर्ना

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक जारी रहेको छ।  सर्वोच्चमा रिक्त ४ न्यायाधीश परिपूर्तिका लागि बिहान १० बजेदेखि बसेका बैठक जारी छ । 
न्याय परिषद्ले बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। झरीमा पनि छाता ओढेर बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको हो । 

 बारले संशोधित न्याय परिषद् नियमावली सच्याएर मात्रै न्यायाधीश नियुक्त गर्न माग गर्दै आएको छ। तर, परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश त्यसका लागि तयार छैनन्।

आफ्नो माग सम्बोधनका लागि बारका पदाधिकारीहरूले आज पनि न्याय परिषद्‍को सचिवालयको ढोकाअघि बसेर विरोध गरिरहेका हुन्।
 
न्याय परिषद्मा संघीय कानुन तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद, नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षकोअनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता एक जना गरी चार जना सदस्य रहने व्यवस्था छ।
परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरिरहेको छ।

प्रतिक्रिया