पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु, १५० जना घाइते

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । झडपका घटनामा १५० जना घाइते भएका छन् ।

पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदाय सँग सम्बन्धित जनजाति बीच रक्तपातपूर्ण मुठभेड हुने गरेको छ । यहाँ वर्षौं देखिको जातीय लडाइका कारण सयौंले ज्यान गुमाएका छन् । 

जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन) ले युद्ध विरामको आह्वान गरे पछि मात्र समाप्त भएको थियो।

कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताए अनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।

उनले भने, “भूमि विवादको रूपमा सुरु भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।

उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताएका छन् । 

पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक बर्ष सयौंको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तर पश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेष गरी लामो र हिंस्रक हुने गरेको छ । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानूनलाई पालना गर्छन्।

सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा शिया समुदायले लामो समय देखि भेदभाव र हिंसा भोग्दै आएको छ ।
रासस

प्रतिक्रिया