अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजे देखि सुरु हुने भएको छ ।

बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ ।बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ । 

शनिबार बिहान ८ बजे देखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक हुने भएको छ । त्यस्तै, असोज १३ गते बिहान ८ बजे देखि निर्वाचनको कार्यक्रम सुरु हुने छ भने असोज १४ गते बिहान ८ बजे देखि मतदान सुरु हुने तालिका रहेको छ । 

अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उप(महासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो । संस्थापन पक्षले दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । संस्थापन पक्षबाट लुम्बिनीका पूर्व मुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमानले पनि अध्यक्षमा दाबी गरेका छन् । पुन र महरा एउटै जिल्ला रोल्पाका हुन । 

दुवै उपमहासचिव वर्षमान पुन निकट पनि छन् । शर्मा पक्षबाट मदन भुल, क्षितिज सापकोटा, नारायण खनाल अध्यक्षका आकांक्षी छन् । उनीहरू मध्ये एक जनालाई मात्र अघि सार्ने गरी शर्मा पक्षले गृहकार्य गरिरहेको छ । 

अखिल क्रान्तिकारीको बिहीबार सुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा २ हजार ३ सय प्रतिनिधि सहभागी छन् । केन्द्रीय समितिमा ३३ पदाधिकारी र २ सय ४३ केन्द्रीय सदस्य रहने व्यवस्था विधानमा छ ।

प्रतिक्रिया