पर्यटनका माध्यम बाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । 

विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौं लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् । 

प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटन सँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौं लुम्बिनीको अवधारणा अघि बढाएको हो ।

मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटन बाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने उल्लेख गरे । नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको सन्देशमा उनले उल्लेख गरेका छन् । 

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन परिपथ बनाउने गरी सरकारले काम थालेको बताउँदै उनले सन्देशमा “लुम्बिनी भूगोलमा विविधता युक्त प्रदेश हो । हिमाल, पहाड र समथर भूभाग अनि अन्नको भण्डार पनि याँही छ । ‘मिनी’ नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ । “विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायत क्षेत्र यहाँको पर्यटन प्रवर्द्धनका आधारस्तम्भ हुन् ”, भनेका छन् । 
रासस 

प्रतिक्रिया