कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोर अन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोम देखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी सम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ ।  

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनी देखि कोरला तर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । 

जोमसोम देखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोर अन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटर मध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । 

पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा  ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोम देखि कोरला सम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए । 
 रासस

प्रतिक्रिया