प्यालेस्टिनी राष्ट्रपति द्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अन्तर्राष्ट्रिय समुदाय समक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गरेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा उनले वासिङ्टनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको आरोप लगाएका छन् । गाजामा अपराध, बालबालिका र महिलाहरूको हत्या र नरसंहार रोक्न हतियार पठाउन रोक्नुपर्ने उनको भनाइ छ । 

गाजा र पश्चिम किनारमा प्यालेस्टिनी माथि भइरहेको अपराधका लागि सम्पूर्ण विश्व जिम्मेवार रहेको अब्बासको भनाइ छ । अमेरिकाले उपलब्ध गराएको घातक हतियारहरू प्रयोग गरेर इजरायलले हजारौं निर्दोष नागरिक, बालबालिका र महिलाहरूको हत्या भैरहेको उनको दाबी छ । 

हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार पाँच सय ३४ पुगेको छ । युद्धका कारण गाजा पट्टीका २४ लाख मानिस मध्ये अधिकांश एक पटक युद्ध बाट विस्थापित भएका छन् ।

प्रतिक्रिया