खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन
काठमाडौं । नेपालीको महान् चाड बडा दशैं नजिकिए सँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ ।
विभागको दुई वटा टोलीले बिहीबार काठमाडौं उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको पनि उनले बताए । उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल–९ काठमाडौंमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागे पछि बिक्री बन्द गरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । सो पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यून स्तरको पाइएको छ । सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।
टिथ्री थकाली समूह सिनामङ्गल–९ काठमाडौंमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी–कमजोरी सम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिन भित्र दर्ता प्रमाण पत्र सहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ ।
बेकर्स बेकरी उद्योग काठमाडौं महानगरपालिका–३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिन भित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि, काठमाडौं महानगरपालिका–३१ बानेश्वर, काठमाडौंमा फ्रिजमा भेटिएको बिना लेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो । बिना लेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको जनाइएको छ ।
मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुर ठिमि नपा–१, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुर ठिमि नपा–२, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।
सिफान स्टोर, मध्यपुर ठिमि नपा–१, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमी कमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताए । जय माँ दुर्गा किराना पसल मध्यपुर ठिमि नपा–१, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको पनि उनले सुनाए । चाडपर्व लक्षित बजार अनुगमनलाई अझै तीव्रतासाथ अघि बढाउने विषयमा गृहकार्य भइरहेको पनि विभागले जनाएको छ ।
रासस
प्रतिक्रिया