सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

सिन्धुपाल्चोक । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबार देखि सञ्चालनमा आएको छ । 

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरे। साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गरे । 

गाउँपालिकाका किसानलाई आयआर्जन सँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोग प्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गरे । 

गाउँपालिकाको कृषि नीति अन्तर्गत किसान सँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जन सँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालन सँगै यहाँका किसानलाई आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष रेनुका चौलागाईँ र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापामगरलाई पनि गाडीको साँचो हस्तान्तरण गरिएको थियो । 

यसैबीच, कृषि उपज सङ्कलन केन्द्र सञ्चालक समितिले केन्द्रमा सङ्कलित उत्पादन उचित मूल्यमा किसान सँग खरिद गरी मेलम्ची बाट काठमाडौं सम्म पाँचपोखरीको पहिचान सहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र अन्य सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।
रासस

प्रतिक्रिया