एन्फा महिला लिग फुटबल: सुदूरपश्चिमलाई पराजित गर्दै कोशी दोस्रो चरणमा

काठमाडौं ।  राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार  भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै कोशी शीर्ष अन्तिम पाँचभित्र रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

 कोशीले नौ खेलबाट १४ अङ्क जोड्यो । सुदूरपश्चिम भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै दोस्रो चरण पुग्ने पाँचै टोलीको टुङ्गो लागेको छ । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार कोशीको जीतमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले समान एक एक गोल गरे । ममताले खेलको २४औँ मिनेटमै गोल गरिन् । त्यस्तै, कोशीकी अर्की खेलाडी समीक्षाले खेलको ५३ र ६५औँ मिनेटमा दुई गोल गरिन् । 
 
यस्तै, खेलको ८५औँ मिनेटमा खुस्माले अर्को गोल गर्दै कोशीलाई ४–० को जीत दिलाइन् । 
 

प्रतिक्रिया