अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको छ ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीकोसंवैधानिक इजलासले अर्जुन लामा हत्यामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरी अनुसार अनुसन्धान अगाडि बढाउन पटक पटक आदेश भैसकेको अवस्थामा अदालतको अन्तरिम आदेशपछि अनुसन्धान सम्पन्न भयो या भएन, नभएको भए कुन कारणले भएन त्यसको सम्पूर्ण कारणसहितको सक्कल फाइलसहित उपस्थित हुन जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको हो ।

२०७२ वैशाख ८ गते सर्वोच्चले लामाको हत्याबारे उनकी पत्नी पूर्णिमाया लामाले अग्नि सापकोटा, सूर्यमान दोङलगायतविरुद्ध दिएको जाहेरीमाथि अनुसन्धान अघि बढाउनु र त्यसको प्रगति प्रतिवेदन १५/१५ दिनमा पेश गर्नु भनी आदेश दिएको थियो ।

आदेश अनुसार प्रगति प्रतिवेदन प्राप्त हुन नसकेको भन्दै सर्वोच्चले फेरि त्यस्तै आदेश गरेको हो ।
 

प्रतिक्रिया