देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो: अध्यक्ष दाहाल

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेका छन् । 

पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को बिहीबारदेखि शुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताएका छन् । 

सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उनले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा फिर्तालगायत विषयमा लडाईं लडिएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासमै सरकारकोतर्फबाट ठूलो कारबाही गरिएको जानकारी दिँदै उनले विचौलिया र दलालविरुद्ध उभिँदा सरकारबाट बाहिर पठाइएको जिकिर गरे । 

सरकारबाट बाहिरिँदा विजयी भावमा जनताकासामु जाने अवसर प्राप्त भएको जानकारी दिँदै अध्यक्ष दाहालले नेपाली जनतालाई विश्वासमा लिएर आगामी निर्वाचनमा २०६४ कै जस्तो अवस्थामा पुर्‍याउनुपर्ने धारणा राखे । प्रतिनिधिसभामा दुई ठूला दल मिलेर जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले सडकबाट प्रतिक्रियावादी शक्तिलाई झुकाउन सकिने उल्लेख गरे । 

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडी राजमार्ग, उत्तरु दक्षिण करिडोर र मदन भण्डारी राजमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिँदै तीमध्ये केही आयोजना सफलताको नजिक पुगेको बताए । 

दोस्रो प्रधानमन्त्रीत्वकालमा इतिहासमै पहिलो पटक विद्युत्भार कटौती अन्त्य गरेको र नेपाली नागरिकलाई उज्यालो प्रदान गरेको तथा तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम गरेको तथ्यलाई नेपाली जनताकामाझ लैजान उनले विद्यार्थी सङ्गठनलाई आग्रह गरे । 
 

प्रतिक्रिया