‘स्वास्थ्य क्षेत्र कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
चिङ्गाड गाउँपालिका–५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज बिहिबार उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए ।
“स्वास्थ्य क्षेत्र प्रत्यक्ष जनतासँग जोडिएको छ”, उनले भने, “यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले थोरै कमजोरी गरे नागरिकको ज्यान खतरा हुन्छ ।”स्वास्थ्यमा थोरै हेलचक्र्याइँले नागरिकको जीवन जोखिममा पर्नसक्ने भएकाले आफ्नो कर्तव्य र दायित्वलाई केन्द्रमा राखेर काम गर्न मुख्यमन्त्री कँडेलले स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
ग्रामीण क्षेत्रमा स्वास्थ्यको भौतिक संरचना राम्रो बनेकाले यहाँका स्थानीयलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास उनले व्यक्त गरे । विकासका काममा तेरो र मेरो नभनेर समुदायमा रहेका सम्पूर्ण व्यक्ति एक ठाउँमा उभिन सके चाँडो र सहज रुपमा विकास गर्न सकिने भन्दै उनले आफ्नो गाउँठाउँलाई राम्रो बनाउन सबै मिल्नुको विकल्प नभएको उल्लेख गरे ।
उनले भने, “हाम्रो जस्तो कमजोर प्रदेशमा चुनावको समयमा दलबीच प्रतिस्पर्धा गर्ने मात्र होइन, विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्दछ ।”प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको केन्द्रमा स्वास्थ्य क्षेत्र रहेको भन्दै उनले अबको केही समयमा यहाँको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिँदै जाने दाबी गरे ।
सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख कमलकुमार दर्लामीका अनुसार रु तीन करोड ६२ लाख नौ हजार नौ सय ५१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो ।
प्रतिक्रिया