प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउनुपर्ने सभामुख घिमिरेको भनाई

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गरेका छन् । 

बिहीबार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले संघीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताएका हुन् ।

सभामुख घिमिरेले संघीयताबारे भएका बहस पनि भावनामा नभइ तथ्यका आधारमा हुनुपर्ने बताए ।  सभामुख घिमिरेले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताए । उनले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभइ सिंगो राष्ट्रका लागि हुनुपर्ने बताए । 

उनले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको जिकिर गरे । सभामुख घिमिरेले मुलुकको नीति बनाउन सहयोग गर्ने महत्वपूर्ण र गहन कार्यक्षेत्र भएको प्रतिष्ठानलाई सरकारले आर्थिक बोझको रुपमा लिनु नहुने बताए ।

संघीयताको सबलीकरण, आर्थिक सशक्तिकरण, कृषि, व्यापार तथा लगानी, वैदेशिक नीति, पर्यटन नीति, वातावरण, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रको नीति निर्माणमा योगदान दिन प्रेरित गर्नुपर्ने बताए ।

प्रतिक्रिया