संस्कारमुखी शिक्षामा जोड : मन्त्री थापा

गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले संस्कारमुखी शिक्षा आवश्यक रहेकामा जोड दिए ।शिक्षा विकास निर्देशनालय पोखराद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्याङ्कसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए ।

मन्त्रालयले यस आर्थिक वर्षको बजेटमा व्यावसायिक र नैतिकवान् शिक्षालाई जोड दिएको भन्दै उनले ‘फ्राइडे फर फ्युचर’, सिक्दै कमाउदै, अभिभावक शिक्षालगायत कार्यक्रमलाई समेटिएको जानकारी दिए । यी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उनले निर्देशन दिए ।

शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षा आवश्यक भएको उनको भनाइ छ । उनले भने, “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।” 

तथ्याङ्कको विश्वसनीयतामा शङ्का नआउनेगरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउने भन्दै  उनले तीनवटै तहको सरकार मिलेर शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने धारणा राखे ।गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको ‘सर्टिफिकेट’मा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए ।यसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भन्दै उनले सही तथ्याङ्कको आवश्यकतामा जोड दिए ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेशस्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । मन्त्रालयले बिग्रँदो, हराउँदो संस्कारलाई परिवर्तनगरी समाज र व्यक्ति सुधार गर्न शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उनले बताए ।

मन्त्रालयअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कानसहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे ।

शुक्रबार सम्म चल्ने कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुुखहरू र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरूको सहभागिता छ । 

प्रतिक्रिया