बी‍.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामी मैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताए ।  

अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उपप्रधानएवं सहरी विकासमन्त्री सिंहले जानकारी दिए । सो अवसरमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले यो अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताए  । क्यान्सरको उपचारका लागि प्रथम विन्दुका रुपमा रहेका जनाउँदै उनले सवल र उत्कृष्ट उपचारले रोग निको हुने बताए ।  नेपाली समाजमा क्यान्सर रोग लागेपछि लुकाएर राख्ने र समयमा उपचारका लागि नआउने प्रचलका कारण मानिसहरुको मृत्यु हुने गरेको उनको भनाई थियो । 
 
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताए । बीस प्रतिशत नेपालका अन्य अस्पतलाहरुमा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उनले जानकारी दिए ।  भविष्यमा यस अस्पताललाई ७०० शय्याको बनाउने योजना रहेको डा. पौडेलको भनाइ छ ।
 

प्रतिक्रिया