इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाडौ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादीलाई नेपाल प्रहरीले दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ। 

ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका– ४ ठेगाना भएका ४२ वर्षीय भूपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका– ९ बस्ने २८ वर्षीय रियाज भन्ने कविर बुढाथोकी तथा जबर्जस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ५ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका– १० बस्ने २६ वर्षीय रोमन कार्की पक्राउ परेका हुन्। उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पक्राउ परेकामध्ये भूपेन्द्र बोहरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट ०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट ०७० साउन २४ गते कविर बुढाथोकी र ०८१ असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कविर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
 

प्रतिक्रिया