लेबनानमा स्थलगत आक्रमण गर्न सक्ने इजरायलका सैन्य प्रमुखको संकेत

एजेन्सी । इजरायलले सशस्त्र समूह हिजबुल्लाह लक्षित गरी आफ्ना सेनालाई लेबनानभित्र स्थलगत आक्रमणका लागि मार्ग प्रशस्त गर्न सक्ने चेतावनी दिएको छ । 

इजरायलका सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल हलेभीले लेबनानभित्र चाँडै नै स्थलगत आक्रमण गर्न सक्ने बताएका हुन् । यसै बीच लेबनानको हिजबुल्लाह संगठनले इजरायली गुप्तचर एजेन्सी मोसादको मुख्यालय नजिक मिसाइल आक्रमण गरेको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आफूले टारगेट बनाएको भवनमा लेबनानमा भएको पेजर विष्फोटको योजना बनेको हिजबुल्लाहको दाबी छ । राजधानी तेल अवीवमा भएको यो आक्रमणमा हिजबुल्लाहले ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको छ । विगत आठ दिनदेखि चलिरहेको इरान समर्थित हिजबुल्लाह र इजरायल बीचको द्वन्द्वमा क्षेप्यास्त्र तेल अवीवसम्म पुगेको यो पहिलो पटक हो । तर, इजरायलले भने क्षेप्यास्त्र हावामै निष्क्रिय पारिएको बताएको छ । 

इजरायली सेनाले बुधबारदेखि सुरु गरेको दोस्रो चरणको व्यापक हवाई आक्रमणमा थप ७२ भन्दा बढीको मृत्यु भएको छ । लेबनानमा २ दिनमा मृत्यु हुनेको संख्या ५ सय ६९ पुगेको छ । इजरायली सेनाले भने हिजबुल्लाहको खुफिया निर्देशनालयका साथै रकेट लन्चर र हतियार भण्डारणहरुमा प्रहार गरेको जनाएको छ । 

यसैबीच फ्रान्स र अमेरिकाले इजरायल र हिजबुल्लाह बीच २१ दिने अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । लेबनानमा हालसम्म ९० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

प्रतिक्रिया