प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी शर्मा ओलीले बिहीबार संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन् । 

न्यूयोर्कमा रहेका ओलीले स्थानीय समय अनुसार साँझ ५ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि बिहानी सत्रमा नौ देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन् । महासभामा सहभागी हुन गत असोज ४ गते न्युयोर्क पुगेका प्रधानमन्त्री केपी ओली द्विपक्षीय साइडलाइन भेटवार्ता जारी राखेका छन् । 

बुधबार मात्रै उनले बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुस, अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँग भेट गरेका छन् । त्यसअघि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी सँग पनि भेटवार्ता गरिसकेका छन् । ओलीले फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया