मोरङमा डेंगुका बिरामी बढ्दो

मोरङ । वर्षा र गर्मीसँगै मोरङमा डेंगुका बिरामी बढेका छन् । 

रंगेली नगरपालिका र आसपासका क्षेत्रमा डेंगुका बिरामी बढेका हुन् । स्वास्थ्य समस्या देखिएपछि रंगेली अस्पतालमा रगत परीक्षण गर्ने क्रममा धेरैमा डेंगु संक्रमण पुष्टि हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । एक सातामा करिव २० जना डेंगुका बिरामी अस्पतालमा पहिचान भएकोमा तीन जनाको सघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ । 
 
एक साता अघिसम्म फाटफुट रुपमा डेंगुका बिरामी देखा पर्ने गरेकोमा त्यसपछि बिरामीको संख्या ह्वातै बढेको हो । डेंगुका बिरामी बढेपछि रंगेली नगरपालिकाले वडा स्तरमा स्वास्थ्यकर्मी परिचालन गरेर  सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

डेंगुबाट बच्न घर वरिपरी सफाइ गर्न, सुत्दा झुलको प्रयोग गर्न, पानी जम्मा हुन नदिन चिकित्सकले आग्रह गरेका छन् । रंगेली अस्पतालमा रङ्गेली, सुनबर्सी, धनपालथान, रतुवामाई र कानेपोखरीका बिरामीको उपचार हुने गरेको छ ।

प्रतिक्रिया