विकास र समृद्धिका लागि मैले गर्न सक्ने सबै खालका सहयोग गर्न तयार छु:  सभापति देउवा

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकास र समृद्धिका लागि  आफुले गर्न सक्ने सबै खालका सहयोग गर्न तयार रहेको बताएका छन् । 

नेपाली कांग्रेस पर्सा कार्यालयको  बुधबार उद्घाटन गर्दै सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

उनले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।  कांग्रेसका सभापति देउवाले फरक प्रसङ्गमा पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको स्मरण गरे ।  

कांग्रेस सभापति देउवाले विद्यार्थी सङ्घको अधिवेशन गराउन पर्सा आउँदाखेरी जेलमासमेत बस्नुपरेको स्मरण गरे । “नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्त्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला”, उनले भने, “यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।”

कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको पनि स्मरण गरे ।  कांग्रेस सभापति देउवाले विगतको तुलनामा अहिले सडक र बाटाघाटाको निर्माणमा कनेक्टिभिटिमा पनि सहज भएको बताए ।   

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका वडा नं २४ मा निर्माण गरेको आत्मराम ओझा, दुख सहनी स्मृति भवनको उद्घाटन गरिएको हो । सोही भवनमा पार्टी कार्यालय सञ्चालन गरिनेछ । नेपाली कांग्रेस पर्साकाअनुसार सो भवन  एक करोड २९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
 

प्रतिक्रिया