निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ:  मन्त्री पाण्डे

कास्की  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । 

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बुधबार पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके मात्र देशमा रोजगारीका अवसर सिर्जना हुने बताएका हुन् । 

व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरुले आर्थिक प्रगति गरेको उदाहरण दिँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्र्र्‍याउने सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताएका  छन् ।  देशको अर्थतन्त्रलाई चलायमान, भ्रष्टाचार मुक्त र सुशासन स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । 

सम्भावना नै सम्भावना भएको देश नेपालमा स्वदेशी मात्र होइन विदेशी लगानीकर्ता भित्र्याएर नेपाली जनतालाई समृद्धिको बाटोतर्फ अगाडि बढाउने चाहना वर्तमान सरकारको रहेको मन्त्री पाण्डेले बताएका छन् ।  पर्यटकीय राजधानी पोखरामा पर्यटनको सम्भावना अत्यधिक भएकाले पर्यटन नीति बनाएर यहाँ पर्यटनमैत्री  वातावरण सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उनको भनाई थियो  । पोखराबाट नै पर्यटकलाई गर्ने सत्कार देशभरि सिकाउने वातावरण सिर्जना गर्न पोखरेली पर्यटन व्यवसायीलाई  उनले आग्रह गरेका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताएका छन् । सो अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको समग्र आर्थिक विकासका बारेमा जानकारी गराएका थिए । 
 

प्रतिक्रिया