महोत्तरीमा अवैध रूपले नदीजन्य पदार्थको उत्खनन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१२ बाँके नदी किनारमा सञ्चालन भइरहेको पञ्चबुद्ध र जय बलाजी उद्योगले अवैध रूपले नदी उत्खनन गरी ढुंगागिट्टी प्रशोधन गरिरहेको पाइएको छ । 

क्रसर उद्योग, नदीजन्य पदार्थको उत्खनन अनुगमन गर्ने निकाय स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेर अवैध प्रसोधनलाई निरन्तरता दिएका हुन् । गौशाला नगरपालिकाले गत आर्थिक वर्षमा बाँके र मरहा नदी उत्खननको ठेक्का नलगाए पनि यहाँ सञ्चालित क्रसर उद्योगले स्थानीय तह, जिल्ला समन्वय समिति र सुरक्षा निकायलाई आर्थिक प्रलोभनमा पारेर रातीको समयमा क्रसर परिसरमा नदीजन्य पदार्थ थुपारेको हो । 

अवैध उत्खनन गरी थुपारिएको सामाग्री नगरपालिकाका प्राविधिकले आर्थिक लेनदेन गरी मौज्दात रहेको प्रमाणित गरेको स्थानीयको आरोप छ । महोत्तरीमा अनुमति नलिइ ढुंगागिट्टी प्रशोधन गर्ने क्रसर उद्योग, अवैध उत्खनन र राजस्व छली, नदीजन्य पदार्थको विक्री गर्नेलाई जिल्ला समन्वय समितिले संरक्षण गरेको पाइएको छ । 

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्ण संयोजक रहेको समतिले नदीजन्य पदार्थ उत्खनन र क्रसर उद्योगको अनुगमन गरी कैफियत देखाउने, कारबाहीको धम्की दिने तर, कुनै कराबाही नगरी आर्थिक लाभ लिने गरेको क्रसर उद्योगीहरूको आरोप छ । 

महोत्तरीमा ७४ क्रसर उद्योगले अनुमति लिए पनि ३९ क्रसर मात्रै सञ्चालनमा छन् । सञ्चालनमा रहेका क्रसर उद्योगले पनि मापदण्ड पूरा नगरेका र उद्योग नवीकरण नगरेको जिल्ला समन्वय समितिमहोतरीले जनाएको छ । 

प्रतिक्रिया