परराष्ट्र मन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेश मन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् ।
दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।
त्यसैगरी उनीहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
परराष्ट्रमन्त्री राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिन् ।
भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिन् । साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउदै आएको सहयोगको पनि उनले सराहना गरिन्।
मन्त्री राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरिन् । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब १२ अर्ब लगानी आएको थियो ।
नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गरिन् ।
त्यसैगरी, मन्त्री राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गरिन् । त्यस क्रममा उनीहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गरिन् ।
रासस
प्रतिक्रिया