रविन्द्र मिश्रको फेसबुक स्टाटसप्रति प्रचण्ड सचिवालयको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटको सन्दर्भलाई लिएर रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटपछि मनका कुरा खोलेको भन्दै लामो स्टाटसमार्फत  टिप्पणी लेखेका थिए । 

अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन्। 

‘हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

 सचिवालयले मिश्रलाई सस्तो राजनीतिक प्रचारमा नलाग्न समेत सुझाव दिएको छ । 

प्रतिक्रिया