तराई–मधेसमा आज जितिया पर्व मनाइँदै

काठमाडौं । तराई–मधेसमा आज(बुधबार) जितिया पर्व मनाइँदैछ । 

आजका दिन तराई–मधेसका आमाहरुले निर्जल÷निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वमा आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने गर्दछन । 

जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ । पर्वअन्तर्गत यस वर्ष मंगलबार बिहान ४ बजेदेखि सुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार व्रत आज बेलुका ५ बजे समापन गरिँदैछ । निराहार व्रत सुरु गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । 

मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व सुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्तव छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी÷सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।

जितिया पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले शुभकामना सन्देश दिदै असल संस्कार, व्यवहार र सामाजिक एकताको पृष्ठपोषण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया