संविधान संशोधन मार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया

फाइल तस्बिर

वीरगञ्ज ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन मार्फत मधेशी, दलित, जनजाति र मुस्लिम समुदायको अधिकारको दायरालाई अझै फराकिलो पार्दै लैजाने बताएका छन् । 

पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रममा मन्त्री चौरसियाले भने ,“मधेशी समुदायको अधिकार स्थापनाका लागि आफूले प्रतिनिधित्व गरेको पार्टी नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”, । 

मन्त्री चौरसियाले परिवर्तन र पटक–पटक जनअधिकार खोस्ने प्रयासका विरुद्ध सङ्घर्ष गरेर आएका पार्टी कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकारले जनअधिकारलाई थप सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने धारणा राखे । 

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिंह क्षेत्रीले पर्साका ग्रामीण क्षेत्रका जनतालाई कृषिमा सहुलियत र थप अनुदान बढाउनुपर्छ भन्नेमा आफूहरू रहेको बताए ।  कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा रहँदा पर्सा जिल्लामा सडक र अन्य पूर्वाधार निर्माण गरेर जनतालाई सहज ढङ्गले यात्रा गर्ने वातावरण बनाएको दाबी गरे ।  

मधेश प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवले केन्द्र र प्रदेशमा कांग्रेसकै नेतृत्वमा कृषि मन्त्रालय रहेकाले कृषि क्षेत्रलाई थप चलायमान र उत्पादनमूलक बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । पूर्वमन्त्री उमाकान्त चौधरीले कांग्रेसले स्थापनाकालदेखि नै मधेशको हित र विकासमा काम गर्दै आइरहेको र अब थप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

संविधानसभा सदस्य अनिल रुगताले औद्योगिक नगरी वीरगञ्जमा आर्थिक गतिविधि सुस्त हुनुले देशको अर्थतन्त्रको अवस्था देखाउने र यसलाई चलायमान गराउने गरी सरकारले आवश्यक काम गर्न जरूरी रहेको बताए ।  कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुङ्गाना सुनकोशी मरिण डाइभर्सन सिँचाइ आयोजनाले मधेसको कृषि र उत्पादन वृद्धिमा आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे । उनले चुरे क्षेत्रलाई अतिक्रमणबाट जोगाउँदै मरु भूमीकरण हुनबाट रोक्न सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । 
 

प्रतिक्रिया