लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी, ठेकेदारहरूले गरे हातपात

रुपन्देही । काम गरेको रकम भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरू, ठेकेदारहरूले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात गरेका छन् । राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको लुम्बिनीस्थित फाइभ इलाभेन होटलमा मंगलबार कार्यक्रम भइरहेको बेला निर्माण व्यवसायी तथा ठेकेदारहरूको एक हुल आएर कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि आक्रमण गरेका हुन् ।
कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जना बढीको समूहले लछार्दै आक्रमण गरेका थिए। यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ। 
केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले असन्तुष्टि जनाइरहेका थिए । माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले गुनासो गरे । आफ्नो ज्यान नै जोखिममा परेको भन्दै उनले सुरक्षाको प्रत्याभूति नहुँदासम्म कुनै चेकमा हस्ताक्षर नगर्ने बताए ।उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे।

यता निर्माण व्यवसायीहरूले भने लुम्बिनी विकास कोषका पदाधिकारीहरूले कमिसन नपाउने भएपछि आफूहरूको भुक्तानी आलटाल गरेर रोकेको गुनासो गरेका छन्। आफूहरूको रकम भुक्तानीका लागि अर्थ मन्त्रालयबाट निकासा भएको २२ दिनसम्म पनि रकम दिन आलटाल गर्नुमा कोषका पदाधिकारीहरूको लोभ रहेको उनीहरूको गुनासो छ।

अर्थ मन्त्रालयबाट खातामा आइसकेको रकम समेत विकास कोषले भुक्तानी नदिई रोकेर राखेको भन्दै निर्माण कम्पनीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री, विकास कोषका पदाधिकारी, सदस्य सचिव तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ज्ञापनपत्र समेत दिएका थिए। लुम्बिनी विकास गुरूयोजना अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मै विकास कोषसँगको सहमतिमा आफूहरूले निर्माण पूरा गरेको कामको झण्डै ५० करोड रुपैयाँ भुक्तानी गर्न आनाकानी गरेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया