इजरायलले हिजबुल्लाह लक्षित आक्रमण चर्काएपछि दक्षिणी लेबनानमा हजारौं मानिस घर छोडेर  भागे

एजेन्सी । इजरायलले हिजबुल्लाहको अखडा लक्षित आक्रमण चर्काएपछि दक्षिणी लेबनानमा हजारौं मानिस आफ्नो घर छोडेर  राजधानी बेरुत तर्फ भागेका छन् । 

लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोमबार मात्रै लेवलानमा  ४९२ जनाको मृत्यु भएको  छ भने १ हजार ६ सय जना भन्दा बढी घाइते भएका छन् । जुन सन् २००६ यता इजरायल–हिजबुल्लाह द्वन्द्वको सबैभन्दा घातक दिन हो । हिजबुल्लाहले पनि इजरायलको उत्तरी भागमा बमबारी गरिरहेको छ । आज मंगलबार  बिहान मात्रै हिजबुल्लाहले  उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेको बीबीसीले जनाएको छ । हिजबुललाहले प्रहार गरेका अधिकांश रकेटलाई इजरायलले रोकेको जनाएको छ । तर इजरायलका केही भवनहरुमा भने क्षति पुगेको जनाइएको छ । लेबनानको दक्षिणी भेगबाट विस्थापित भएका सयौं स्थानीय बासिन्दाहरू बेरुत पुगिसकेका जनाइएको छ ।

लेबनान–इजरायल सीमाका दुवैतर्फ गत ७ अक्टोबरको आक्रमणपछि आक्रमण बढेको छ – हिजबुल्लाहले गाजास्थित हमासको तर्फबाट लडिरहेको बताएको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित स्थानमा जान र  हिजबुल्लाहको अखडाबाट  टाढा रहन आग्रह गरेको छ । गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो ।

त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजबुल्लाह एक इरान समर्थित लेवनानी राजनीतिक पार्टी तथा मुस्लिम लडाकू समूह हो । जसको गठन १९८२ मा भएको थियो । हिजबुललाह त्यस क्षेत्रमा इजरायलको सबैभन्दा ठूलो शत्रु हो। यो समूहले इजरायलका सबै भागमा हान्न सक्ने रकेटहरू आफूसँग भएको दाबी गर्दै आएको छ । हिजबुल्लाहले आफ्नो संगठनमा १ लाख लडाकुहरू भएको बताउने गरेको छ ।

 अमेरिकाको  अनुमानमा  इरानले हिजबुल्लाहलाई वार्षिक रूपमा सयौं लाख डलर दिने गरेको छ । हिजबुल्लाह लेवनानमा सरकार चलाइ सकेको शक्ती हो । 

प्रतिक्रिया