सिंगापुरका पूर्व यातायात मन्त्री उपहार लिएको अभियोगमा दोषी ठहर

एजेन्सी । सिंगापुरका पूर्व यातायात मन्त्री सुब्रमण्यम ईश्वरन पदमा बहाल हुँदा अवैध रूपमा विभिन्न उपहार लिएको अभियोगमा दोषी ठहर भएका छन्। 

ईश्वरन सिंगापुरमा विगत ५० वर्षमा अदालतमा मुद्दा खेप्ने सार्वजनिक पदधारण गरेका तथा राजनीतिक पृष्ठभूमि भएका प्रथम व्यक्ति हुन्। सिंगापुर भ्र्रष्टाचार र आर्थिक मामिलामा निकै स्वच्छ मुलुकका रुपमा विश्वभर परिचित छ । 

अभियोगपत्रमा ईश्वरनलाई चार लाख ३ हजार सिङ्गापुर डलरभन्दा बढीको हवाई टिकट, होटलमा बसोबासको सुविधा, साङ्गीतिक कार्यक्रम र ’ग्र्यान्ड प्रिक्स’का टिकटहरू उपहारका रूपमा लिएको उल्लेख छ । 
गत जनवरी महिनामा अभियोग लाग्ने बित्तिकै ईश्वरनले  आफू दोषी नभएको दाबी गर्दै सरकारबाट राजीनामा दिएका थिए । उनले आफूमाथि लागेको कलङ्क मेट्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका थिए । तर उनले  एउटा स्थानीय अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका थिए ।

६२ वर्षिय ईश्वरनलाई सुरुमा भ्रष्टाचारको आरोप लगाइएको थियो । तर अभियोजनकर्ताले मंगलबार उनको सुनुवाइ सुरु हुने क्रममा यी आरोपहरू परिमार्जन गरेका थिए। सार्वजनिक अधिकारी संलग्न भएको भ्रष्टाचारको मुद्दा सिंगापुरमा दुर्लभ मानिन्छ ।

 ईश्वरनको अभियोग भ्रष्टाचारबाट उपहार लिएको भन्नेमा परिमार्जन भएपछि अब उनले १ लाख डलर सम्मको जरिवाना वा सात वर्षको जेल सजाय हुने भ्रष्टाचारको सजायको तुलनामा उपहार लिएको आरोपमा जरिवाना वा दुई वर्ष जेल सजाय भोग्नु पर्नेछ । 

प्रतिक्रिया