खोटाङमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई टिकट अनिवार्य

खोटाङ । खोटाङमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य टिकट काट्न लगाउने तथा यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै सवारी साधन चढाउनुपर्ने निर्णय गरिएको छ । 

दशैं तिहार तथा छट पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने÷गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

जिल्लामा सञ्चालित विशेषगरी कतिपय जीपले यात्रुबाट तोकिए भन्दा बढी भाडा लिने तर, टिकट नदिने जनगुनासो आएकाले टिकट अनिवार्य गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । 

हरेक यात्रुको टिकट काटे÷नकाटेको विषयमा जयराम, दिक्तेल लगायतका प्रहरी पोष्टमा प्रहरीले चेकजाँच गर्ने भएको छ । यसका लागि मातहतका सबै प्रहरी परिचालन गरिएको छ । जिल्लामा सञ्चालित सवारी साधनले तोकिए भन्दा बढी भाडा लिएको अथवा टिकट नखिएको खण्डमा प्रचलित कानून अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । 

मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड तथा दिक्तेल–गाईघाट सडक मर्मतका लागि सम्बन्धित आयोजनाको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया