गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

महोत्तरी । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले मंगलबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । 

४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु मंगलबारदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताए । 

मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले दिए । महोत्तरी गाउँपालिकाले मंगलबारदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ ।
 
बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी मंगलबारदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गरेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।  जलेश्वरस्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसमा पनि बिदा दिइएको क्याम्पस प्रमुख अजयकुमार झाले बताए । 

गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरुको चाप बढेको छ ।
रासस

प्रतिक्रिया