रविन्द्रसंगको भेटमा प्रचण्डले भने: 'यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन'

महेन्द्र गग्जबका भिजनरी,पंचायतकालमा धेरै राम्रो काम भएको जिकिर

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रबिच  भेटवार्ता भएको छ। मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर मिश्रले प्रचण्डसँग भेट गरेका हुन् ।प्रचण्डसँग भेटपछि सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै मिश्रले राजसंस्था पुर्नस्थापना नगर्ने हो भने विस्फोटको देश अवस्थातिर जानसक्ने तर्फ प्रचण्डको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्। र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए।
प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 
प्रचण्डसँगको भेटमा उनले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले सामाजिक सञ्जालमा ७ बुँदामा जानकारी गराएका छन्। 

१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका 'भिजनरी' राजा रहेछन्।

३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।

६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो।

प्रतिक्रिया