रुसद्वारा ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता अन्त्य

मानवतालाई बन्धक बनाएको भन्दै अन्र्तराष्ट्रिय समुदायद्वारा आलोचना

रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले म्याद समाप्त भएको बताएको हो । संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको हो । रुसले क्राइमियाको पुल आक्रमणसँग खाद्यान्न निकासी सम्बन्धि निर्णयको कुनै सरोकार नरहेको पनि जनाएको छ । युक्रेनलाई खाद्यान्न निकासी गर्न दिंदा रुसबाट रासायनिक मल र रुसी खाद्यान्न पनि अन्तर्राष्ट्रिय बजारमा जान पाउनुपर्ने सहमति कार्यान्वयन नभएकाले आफू पछि हट्न बाध्य भएको रुसी तर्क छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने रुसको भनाइ छ । रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको थप नहुने जानकारी गराएको छ । अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णयको संज्ञा दिएको छ । संयुक्त राष्ट्र संघले पनि सम्झौतालाई निरन्तरता दिन आग्रह गरेको छ । सम्झौताबाट रुस पछि हटेपछि अन्तर्राष्ट्रिय बजारमा पुनः खाद्यान्न संकट गहिरिने अनुमान गरिएको छ । गत बर्ष जुलाईमा भएको सम्झौतापछि युक्रेनले एक वर्षमा तीन करोड २० लाख टन गहुँ, मकैलगायत खाद्यान्न निकासी गरेको थियो ।

प्रतिक्रिया