परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्।

असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा.राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन्।

उनले नेपाल बिपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन्।

गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो। सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए। उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौं मानिस मारिएका थिए।

नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा राणाले सो बैठकमा बतइन्। सम्बोधनका क्रममा मन्त्री डा.राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औंल्याइन्।

विभिन्न नाम र बहानामा विश्वका कैयौं ठाउँमा अहिले पनि युद्व, बिद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो।

उनले भनिन्,’मलाई लाग्छ दोश्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ। त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ।’

मन्त्री डा. राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन्।

 

प्रतिक्रिया